बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

थापाथली सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन, डोजर पुगे

अभियानमा काठमाडौँ महानगरको सहयोग रहने : कार्यवाहक मेयर डंगोल

शनिबार, बैशाख १२ २०८३

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा हटाउने तयारीसँगै सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गरिएको छ ।

स्थानीय प्रशासन र काठमाडौँ महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बस्ती क्षेत्रका घर–टहरा खाली गर्न निर्देशन दिएको थियो ।

सूचनाअनुसार शुक्रबार साँझसम्म करिब ७० प्रतिशत बासिन्दाले घर–टहरा खाली गरिसकेको जनाइएको छ ।

घर–टहरा भत्काउने कार्यका लागि काठमाडौँ महानगरपालिकाको डोजर थापाथली क्षेत्रमा पुगिसकेको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न लागेको काममा महानगरको सहयोग रहने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले थालेको अभियानमा समन्वय र सहयोग गर्न महानगर तयार भएको बताएकी हुन् ।

उनले वैशाख ११ गते काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुबीच छलफल भएको र कानून तथा न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौँ महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहने जानकारी गराएकी हुन् । उनले भनिन्, ‘यो कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला सबै निकाय, पदाधिकारी र सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

उनले भनेकी छन्, ‘सरकारले गरेको निर्णय तथा पहलकदमीमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदी किनार तथा अन्य सार्वजनिक स्थानको संरक्षण गर्ने कार्यमा अनधिकृत संरचना हटाउने कार्य गर्न सम्बद्ध मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय तथा अनुरोध बमोजिमको कार्यमा सहयोगी भूमिका निर्वाह गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, विरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसको विशेष ख्याल राख्ने, सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गरिरहेको छ ।’