कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एक जना मजदुरको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार लामखुट्टे भगाउन अण्डा राख्ने क्रेट बाल्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बोहोराले लामखुट्टे भगाउने उद्देश्यले क्रेट बालेका थिए ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।