काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे सिंहदरबारमा आयोजना हुने तय भएको छ।
बैठकमा कृषि उत्पादनका प्रमुख साधन मलको आपूर्ति अवस्थाबारे विस्तृत छलफल गरिनेछ। रासायनिक, जैविक तथा प्राङ्गारिक मलको उपलब्धता, वितरण प्रणाली र आगामी खेती सिजनका लागि तयारीबारे समितिले सरकारसँग जानकारी लिनेछ।
त्यसैगरी बीउबिजनको आपूर्ति अवस्था, किसानले भोगिरहेका समस्या तथा कृषि उत्पादन वृद्धि गर्न आवश्यक सरकारी तयारीबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
किसान प्रोत्साहन कार्यक्रम, अनुदान नीति तथा कृषि क्षेत्रलाई सबल बनाउने रणनीतिबारे समेत समितिले सम्बन्धित निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ।