काठमाडौं। आज २०औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनःस्थापना गरेपछि यस दिनलाई लोकतन्त्रको विजय दिवसका रूपमा स्मरण गरिँदै आएको छ।
जनताको संघर्षबाट प्राप्त उपलब्धिको खुसीयालीस्वरूप विसं २०६४ देखि प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो।
विसं २०५९ असोजमा संसद् विघटन भएपछि मुलुक राजनीतिक अस्थिरता र द्वन्द्वमा फस्यो। निर्वाचन हुन नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रले इच्छा अनुसार प्रधानमन्त्री नियुक्त गर्ने र हटाउने क्रम चलाएका थिए। यस अवधिमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो। यही समझदारीपछि आन्दोलनले व्यापक गति लियो।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको जनआन्दोलन चैतदेखि थप सशक्त बन्दै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिएका थिए। काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र राजनीतिक दलहरूको प्रस्तावमा सहमत भएका थिए।
त्यसपछि वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गर्दै संसद् बैठक आह्वान गरिएको थियो। यही ऐतिहासिक निर्णयलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ।
यसै आन्दोलनको जगमा विसं २०६३ जेठ ४ गते संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो। त्यसैगरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरिएको थियो, जसलाई नेपाली ‘म्याग्नाकार्टा’ समेत भनिन्छ।
विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो भने २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको औपचारिक अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गर्यो।
पछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भई अहिले तीनै तहका सरकार सञ्चालनमा छन्।
राजनीतिक परिवर्तन, लोकतान्त्रिक अधिकार र गणतन्त्र स्थापनाको प्रवेशद्वारका रूपमा वैशाख ११ गतेलाई नेपाली जनताले विशेष महत्वका साथ लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छन्।