काठमाडौँ। बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ६९२ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु ७ लाख ६० हजार राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना, यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन सडकमा निकाल्ने ६३ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २२४ जना तथा तीव्र गतिमा सवारी हुइँक्याउने १३२ जनालाई कारबाही गरिएको हो।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने २३७ जना, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ४० जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
यस बाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७८० जनामाथि समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।