काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंका सुकुम्बासी बस्ती हटाउने सरकारी योजना तत्काल रोक्न माग गरेका छन्।
सरकारले शनिबारदेखि सुकुम्बासी बस्ती हटाउने तयारी थालेपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था नगरी बलपूर्वक बस्ती हटाउन नहुने बताएका हुन्।
लामो समयदेखि बसेका बासिन्दाले जीवनभरको कमाइ लगाएर घर बनाएको उल्लेख गर्दै उनले राज्यले समयमै व्यवस्थापन गर्न नसकेको जिम्मेवारी पनि सरकारकै भएको बताएका छन्।
“त्यसबेला तात्कालीन नगरपालिका र राज्य संयन्त्रले इजाजत दिएरै बसेका होलान् ती बस्तीहरू। त्यसो भएकाले उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्थापन गरेर मात्रै त्यस्ता जग्गा खाली गराउने कार्यमा सरकार लाग्नुपर्छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जनताको घर भत्काउने, बेघर बनाउने, लछारपछार गर्ने, गालीगलौज गर्ने, लाठी, बुट र बन्दुक देखाएर तर्साउने कार्य संविधानविपरीत हुने साम्पाङको भनाइ छ। उनले यस्ता गतिविधिले लोकतन्त्रको मूल्य–मान्यता लत्याउने र सरकारको निरंकुश चरित्र देखाउने बताएका छन्।
“यस्ता मानवअधिकार विरोधी गतिविधिको श्रम संस्कृति पार्टी सख्त निन्दा, भर्त्सना र विरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।