काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएपछि विभिन्न बस्तीमा त्रास फैलिएको छ। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि शाहले बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बस्ती खाली गराउने तयारी गर्न निर्देशन दिएको जनाइएको छ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर हुँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गर्नुभएको थियो। त्यो प्रयास सफल नभए पनि अहिले संघीय सरकारको नेतृत्वमा पुगेपछि सुरक्षा संयन्त्रको बलमा बस्ती हटाउने तयारी अघि बढाइएको भन्दै बस्तीवासीहरू चिन्तित बनेका छन्।
सरकारको तयारी सार्वजनिक भएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरू आन्दोलित भएका छन्। थापाथली क्षेत्रका बासिन्दाले कुनै पूर्वसूचना, विकल्प वा पुनर्स्थापनाको व्यवस्था नगरी बल प्रयोग गरिए ज्यान दिएरै भए पनि प्रतिकार गर्ने चेतावनी दिएका छन्।
थापाथली उत्पीडित सुकुम्बासी बस्तीका अध्यक्ष मीनकुमार राना मगरले बस्तीका बासिन्दा अत्यन्त त्रसित अवस्थामा रहेको बताउँदै बस्न अन्यत्र कुनै ठाउँ नभएकाले त्यहीँ मर्न तयार भए पनि बस्ती नछोड्ने अडान व्यक्त गरे ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले पनि सरकारको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। मोर्चाको बिहीबार बसेको बैठकले बल प्रयोग गरेर बस्ती उठाउन खोजिए प्रतिवाद गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले जानकारी दिए।
उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि सरकार निर्मम बन्न थालेको आरोप लगाउँदै कानुनबमोजिम व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराइएको बताए ।
सरकारको कदमको विपक्षी दल, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रबाट पनि आलोचना भएको छ। सामाजिक सञ्जालमा समेत मिश्रित प्रतिक्रिया देखिएको छ। नेकपा (एमाले)का सचिव महेश बस्नेतले यसलाई सरकारको अधिनायकवादी शैलीको संज्ञा दिए।
विज्ञहरूले भने सुकुम्बासी समस्या केवल बल प्रयोगबाट समाधान नहुने बताएका छन्। पूर्वप्रशासक शारदाप्रसाद त्रितालले नक्कली सुकुम्बासी र सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने धारणा राखे। अर्थशास्त्री हरि रोकाले ग्रामीण क्षेत्रमा जीविकोपार्जनको संकट समाधान नगरेसम्म सहरको सुकुम्बासी समस्या अन्त्य नहुने टिप्पणी गरे ।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी भएको चर्चा चलिरहँदा बिहीबार राति जेनजी अभियन्ता तथा अगुवाहरू बस्तीमा पुगेका थिए।
उपार्जुन चाम्लिङ, रक्षा बम, माजिद अन्सारी, अमित खनाल, ऊर्जा र प्रभातलगायतका अगुवाहरू करिब दुई घण्टादेखि बस्तीमै बसेर स्थानीय बासिन्दाको अवस्था बुझिरहेका छन्।
सुकुम्बासी बस्तीका प्रतिनिधिहरूको आग्रहमा स्थलगत रूपमा पुगेका उनीहरूले त्यहाँका बासिन्दा अत्यन्तै आतंकित र त्रसित अवस्थामा रहेको बताएका छन्। एक अगुवाले नेपाल प्रेससँग कुरा गर्दै वस्तुस्थिति बुझ्दा बस्तीका जनता निकै डर र तनावमा रहेको बताए।
स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग समन्वय गरिदिनुपर्ने अपेक्षा राखेको पनि ती अगुवाले जानकारी दिएका छन्।
जेनजी अगुवाहरूले बस्तीका बासिन्दालाई नडराउन र नआत्तिन आग्रह गर्दै आफूहरू साथमै रहने आश्वासन दिएका छन्। बस्ती हटाउने सम्भावित सरकारी तयारीका बीच उनीहरूको उपस्थितिले स्थानीयमा केही भरोसा जागेको बताइएको छ।