मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

शेखर गोल्छा पक्राउले निजी क्षेत्रमा तरंग, राजेन्द्र खेतानको नाम पनि चर्चामा

बिहिबार, बैशाख १० २०८३

काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छा पक्राउ परेको चर्चा सार्वजनिक भएसँगै निजी क्षेत्रभित्र नयाँ तरंग पैदा भएको छ । विशेषगरी ठूला व्यावसायिक घरानाहरूबीच अब अनुसन्धानको दायरा कहाँसम्म पुग्छ भन्ने चासो बढेको छ ।

गोल्छा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष हुन्, र उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्टसँग मिलेमतो गरेको आरोप छ।

नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा गोल्छासहित अन्य व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको छ ।

अनुसन्धान प्रतिवेदन अनुसार, उक्त प्रकरणमा बिचौलिया समूहले शेयर बजारमा ठूलो मात्रामा उधारो कारोबार गरी आर्थिक दायित्व पूरा नगरेको देखिएको छ । सोही क्रममा विभिन्न ब्रोकर कम्पनी तथा वित्तीय संरचनाहरूको प्रयोग गरी कारोबार गरिएको उल्लेख छ ।

सीआईबीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर समूहका उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवालसहित उनीहरूसँग सम्बन्धित सरकारी अधिकारी र व्यापारीमाथिको अनुसन्धान भइरहेकाे छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागनिकट स्रोतका अनुसार भट्ट र अग्रवालका शंकास्पद वित्तीय कारोबार, लगानीका स्रोत तथा उनीहरूसँग जोडिएका अन्य व्यापारीहरूको भूमिकाबारे विस्तृत बयान सकिएको छ। साथै, कसुरजन्य गतिविधिबाट लाभ पुग्ने गरी निर्णय प्रक्रियामा संलग्न रहेको आशंका गरिएका धीतोपत्र बोर्डका तत्कालीन उच्च पदस्थ अधिकारीहरूसँग समेत सोधपुछ पूरा गरिएको बताइएको छ।

अनुसन्धानबाट संकलित तथ्य, प्रमाण र बयानलाई आधार बनाएर अब प्रतिवेदन लेखनको काम अघि बढाइएको विभाग तथा अर्थ मन्त्रालय सम्बद्ध स्रोतहरूले जनाएका छन्।

उद्योग क्षेत्रसँग नजिक रहेका स्रोतका अनुसार पछिल्लो घटनाक्रमले केही प्रभावशाली व्यवसायीहरू थप सतर्क बनेका छन् । त्यसमध्ये चर्चित उद्योगपति राजेन्द्र खेतानको नाम पनि चर्चा भइरहेको छ । व्यावसायिक वृत्तमा “अब कसको पालो ?” भन्ने प्रश्न उठ्न थालेको बताइन्छ।
यदि आर्थिक अनियमितता, कर छली, बैंकिङ कारोबार वा नीतिगत प्रभावका विषयमा छानबिन अगाडि बढ्यो भने ठूला घरानाहरू दबाबमा पर्न सक्ने विश्लेषण भइरहेको छ ।

यसै कारण केही व्यवसायीहरूले आफ्नो कागजात मिलाउने, पुराना कारोबार पुनः परीक्षण गर्ने र कानुनी परामर्श बढाएको चर्चा छ।
खेतानविरुद्ध कुनै आधिकारिक आरोप वा कारबाही सार्वजनिक नभएको भएपनि निजी क्षेत्रका एक जानकारका अनुसार, “शेखर गोल्छामाथि कारबाही भएको खबरले धेरै व्यवसायीलाई झस्काएको छ । अब राज्य संयन्त्र साँच्चै सक्रिय हो कि भन्ने प्रश्न उठेको छ।”

यदि पछिल्ला घटनाक्रमले निरन्तरता पायो भने नेपालको निजी क्षेत्रभित्र शक्ति सन्तुलन, राजनीतिक पहुँच र आर्थिक प्रभावका पुराना समीकरणसमेत हल्लिन सक्ने अनुमान गरिएको छ।

नेपाली उद्योग व्यवसाय क्षेत्रमा प्रभावशाली नाम मानिने राजेन्द्र खेतान विभिन्न व्यापारिक समूह, उद्योग र लगानीसँग जोडिएका व्यक्ति हुन् । लामो समयदेखि उनी नेपालको निजी क्षेत्रका शक्तिशाली व्यवसायीमध्ये गनिन्छन् । तर प्रभावशाली व्यवसायीसँगै उनको नाम विभिन्न विवाद, पहुँच राजनीति र व्यावसायिक दबदबा सँग पनि जोडिँदै आएको छ। व्यावसायिक वृत्तमा खेतान समूहले सरकार, राजनीतिक नेतृत्व र प्रशासनिक निकायमा पहुँच प्रयोग गरेर आफूअनुकूल नीतिगत निर्णय गराउने गरेको आरोप समय–समयमा उठ्ने गरेको छ ।

ठूला घरनाका व्यवसायीहरुमाथि केही क्षेत्रहरूमा प्रतिस्पर्धीलाई कमजोर पार्ने, आयात–निर्यातमा प्रभाव जमाउने तथा बजारमा एकाधिकार कायम गर्ने शैली अपनाएको चर्चा हुने गरेको छ । खासगरी ठूलो पूँजी र नेटवर्कका कारण साना व्यवसायी दबाबमा परेको गुनासो सुनिन्छ।