मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवापुस्तालाई आकर्षित गर्न आवश्यक रहेको बताएका छन्। युवालाई पार्टीको इतिहास, विगतका योगदान, सुशासनका लागि भएका प्रयास तथा मुलुक निर्माणमा पार्टीको भूमिकाबारे जानकारी गराउनुपर्ने उनले बताएका हुन्।
नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सभापति थापाले गत निर्वाचनमा पार्टीले गुमाएको १० लाख मतबारे गम्भीर समीक्षा र चिन्तन आवश्यक रहेको बताए।
उनले स्थानीय तह र प्रदेशमा अझै धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितका पक्षमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।
कांग्रेसलाई आधुनिक र स्मार्ट बनाउने लक्ष्यसहित क्रियाशील सदस्यताको नवीकरण तथा अद्यावधिक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै थापाले ज्येष्ठ सदस्यहरूको ऐतिहासिक सदस्यतालाई डिजिटल अभिलेखमा सुरक्षित गरिने बताए।
आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको उल्लेख गर्दै उनले पार्टीसँग असन्तुष्ट भएका १० लाख मतदातालाई पुनः कांग्रेसमा फर्काइने दाबी गरे। साथै पार्टीमा चार पुस्तालाई सँगै लिएर संगठन मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।
पार्टी उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचन परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरिन्। संगठनलाई सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन क्रियाशील सदस्यहरूले घरघरमा पुगेर पार्टी नीति र कार्यक्रमबारे जनतालाई जानकारी गराउनुपर्ने बताए। उनले वडास्तरीय सदस्यता डिजिटल रूपमा अद्यावधिक गर्न लागिएको जानकारी दिए।
अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुनर्जीवन दिन वडा तहदेखि केन्द्रसम्म संगठन अद्यावधिक गरिने बताए। स्थानीय सरकारले गरेका लोकप्रिय कामको पर्याप्त प्रचारप्रसार नहुनु पनि निर्वाचनमा पराजयको एक कारण भएको उनको भनाइ थियो।