काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति जेनजी अगुवा रक्षा बमले कडा असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहको कदमलाई ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गरेकी हुन्।
प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर काठमाडौं उपत्यकाबाट सुकुमवासी बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका थिए। उक्त समाचारको अंश फेसबुकमा सेयर गर्दै रक्षा बमले लेखेकी छन्, “बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो।”
उनले रास्वपाको चुनावी वाचापत्र पढ्नसमेत सुझाव दिएकी छन्।
यसअघि रास्वपा सभापति रवि लामिछानेले विगतमा सुकुमवासी बस्ती हटाउने प्रयासको विरोध गर्दै डोजर चलाउनुपर्ने भए आफ्नो छातीमाथि चलाउनुपर्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।
२१ फागुनको चुनावी अभियानका क्रममा प्रधानमन्त्री शाहले झापाको सुकुमवासी समस्या एक हजार दिनभित्र समाधान गर्ने वाचा गरेका थिए।
गृहमन्त्री सुदन गुरुङले बुधबार राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारीसमेत आफैं सम्हालेका शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुमवासी बस्ती हटाउने काम काठमाडौंबाट सुरु गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि शाहले सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए। तर स्थानीयको प्रतिवादका कारण त्यो अभियान सफल हुन सकेको थिएन। प्रधानमन्त्री बनेपछि उनले फेरि सोही अभियान अघि बढाउन खोजेको देखिएको छ।