काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।
आयोगका अनुसार निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रम (जेभी) हरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको खातामा रकम जम्मा गरिएको भेटिएको थियो। उक्त रकम घुसस्वरूप प्राप्त भएको र त्यसैबाट दुवैले मिलेमतोमा विभिन्न सम्पत्ति खरिद गरेको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममार्फत पुरातत्व विभागसँग गरेका कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरका ठेक्कामध्ये ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस लिएको आयोगको दाबी छ।
आयोगले भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरी जग्गा, सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको जनाएको छ। गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउने, रूपान्तरण गर्ने तथा हस्तान्तरण गर्ने कार्यसमेत भएको ठहर गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठ र अधिकारी दुवैविरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।