काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।
मंगलवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष राईले विवादमा मुछिएका गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनु उपयुक्त हुने प्रतिक्रिया दिएका हुन्।
गृहमन्त्रीबारे पटक–पटक नयाँ विवाद र प्रश्न उठिरहनु राम्रो नभएको भन्दै उनले मार्ग प्रशस्त गर्नु उचित हुने सुझाव दिएका छन्।
अध्यक्ष राईले भने, “उहाँबारे जहिले पनि नयाँ नयाँ कुरा सुनिन्छ। हप्तामा दुई–तीन चोटि घरी के घरी के सुनिन्छ। यस्तो नहुँदा राम्रो हुन्थ्यो। उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु।”
उनले सरकारलाई सुशासन कायम गर्ने दिशामा केन्द्रित हुन समेत सचेत गराएका छन्।