काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङसँग सम्पत्ति विवरण र विवादित व्यावसायिक सम्बन्धबारे लिखित स्पष्टीकरण लिएका छन्। सेयर खरिद विवरण लुकाएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ रहेको आरोपपछि गृहमन्त्रीमाथि प्रश्न उठेको हो।
गृहमन्त्री गुरुङले आफूले ऋण लिएर सेयर खरिद गरेको दाबी गर्दै यसअघि नै सार्वजनिक रूपमा स्पष्टीकरण दिएका थिए। सोही विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण भएपछि थप स्पष्टिकरण माग गरिएको उनको सचिवालयले जनाएको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार गुरुङले सोमबार साँझ ६ बजे प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण बुझाएका हुन्। सचिवालयले विवादित व्यवसायी दीपक भट्टको कम्पनीसँग सम्बन्धित सेयर खरिदबारे उठेका प्रश्नका कारण स्पष्टीकरण दिइएको बताएको छ।
यसअघि प्रधानमन्त्री शाहले तत्कालीन श्रममन्त्री दीपक साहलाई १४ दिनमै पदबाट बर्खास्त गरेका थिए। पहुँचको दुरुपयोग गरी नियुक्ति गराएको आरोपमा साहलाई स्पष्टीकरणको अवसर नदिई पदमुक्त गरिएको थियो, जसबारे उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। बर्खास्त गरिएका दीपक साहले सामाजिक सञ्जालमा एक शब्दको स्टाटस लेखेरे लाक्षणिक आपक्ति जनाएका छन् । उनले लेखेका छन् -स्पष्टीकरण… ।
तर हाल सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषयमा गृहमन्त्री गुरुङमाथि गम्भीर प्रश्न उठे पनि तत्काल बर्खास्तीको संकेत भने प्रधानमन्त्री शाहले दिएका छैनन्।
गृहमन्त्रीको सम्पत्ति स्रोत र भट्टसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। सरकारको आगामी कदमबारे भने औपचारिक निर्णय सार्वजनिक भएको छैन।