बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति दैनिक सात घण्टा बन्द हुने

मंगलबार, बैशाख ८ २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ ४ गतेसम्म रातिको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ। पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म उडान तथा अवतरण सेवा स्थगित गरिने भएको हो।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत भइरहेको निर्माण कार्यका कारण रातिको समयमा विमानस्थल बन्द गर्न लागिएको हो।

हाल विमानस्थलको धावनमार्ग छेउमा रहेको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य जारी छ। सुरक्षालाई प्राथमिकता दिँदै उक्त समयमा विमानस्थल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको बताइएको छ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार बन्द अवधिबाट यात्रु तथा उडान सेवामा पर्न सक्ने असर न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरण तालिका समायोजन गर्न हवाई सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरिएको छ।