बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उदयपुरमा भीषण आगलागी, दुई जनाको जलेर मृत्यु

मंगलबार, बैशाख ८ २०८३

काठमाडौँ । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको भीषण आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन्। आगलागीमा घाइते भएकी अस्मिता खड्काको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आज बिहान करिब पौने ३ बजेतिर लक्ष्मी नारायण खड्काको घरबाट आगलागी सुरु भएको थियो। आगोले लक्ष्मी नारायणको घरसहित रबिन कुमार दास र सकलदेवको घरसमेत जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार आगलागी हुँदा घरभित्र सुतिरहेका लक्ष्मी नारायण र पवन खड्काको जलेर मृत्यु भएको हो।

त्रियुगा नगरपालिका र चौदण्डिगढी नगरपालिकाका दमकल, स्थानीयवासी तथा प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने बताइएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।