बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ

मंगलबार, बैशाख ८ २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियान कुनै पनि हालतमा नरोकिने र नडगमगाउने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले डराएर विभिन्न हल्ला फैलाउने र मिडिया ट्रायलमा लागेको आरोप लगाए।

गृहमन्त्री गुरुङले पछिल्लो समय भ्रष्टाचार नियन्त्रणका लागि सरकारले अघि बढाएको कदमविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको बताए। वर्षौंदेखि राष्ट्रको ढुकुटीमा जनताको रगत–पसिनाले जम्मा भएको रकममा नजर गाड्नेहरू अहिले त्रसित बनेको उनको भनाइ छ।

उनले कारबाहीबाट बच्न केही समूहले प्रायोजित हल्ला र मिडियामार्फत भ्रम सिर्जना गरिरहेको उल्लेख गरे। “मिडिया ट्रायल र प्रायोजित हल्ला उनीहरूको छटपटी मात्र हो, सरकारको कारबाही न रोकिन्छ, न त डगमगाउँछ,” उनले लेखेका छन्।

गृहमन्त्रीका अनुसार ठूलो परिमाणमा भ्रष्टाचार गर्ने व्यक्तिहरूमाथि निगरानी र अनुसन्धान तीव्र पारिएको छ। उनले दिनको ५० करोड रुपैयाँसम्म भ्रष्टाचार गर्नेहरूमाथि पनि कडा अनुसन्धान भइरहेको दाबी गरे।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर कानुनी दायराभित्र रहेर कदम चालिरहेको उल्लेख गर्दै उनले निष्पक्ष अनुसन्धान र प्रमाणका आधारमा दोषीमाथि कारबाही हुने तथा कुनै दबाब वा प्रभावमा नपरी काम गरिने दोहोर्‍याए।