बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज तराई क्षेत्रमा तातो लहरको सम्भावना

मंगलबार, बैशाख ८ २०८३

काठमाडौँ । नेपालका विभिन्न भू–भागमा गर्मी बढ्दै गएको बेला मौसमविद्हरूले तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम बुलेटिनमा विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको जोखिम देखिएको जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण हिमाली क्षेत्रहरूमा सामान्य बदली रहनेछ।

आज कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्रसहित बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोचहरूमा तातो दिन रहने सम्भावना रहेको छ।

आज राति भने हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।