काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी निष्पक्ष छानबिन अघि बढाउन सरकारसँग माग गरेको छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै गुरुङमाथि लागेका गम्भीर आरोपको निष्पक्ष अनुसन्धानका लागि उनलाई पदबाट हटाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएका हुन्।
विज्ञप्तिमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने र यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने स्पष्ट संकेत गर्ने उल्लेख गरिएको छ। साथै मन्त्रीकै ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता तथा कानुनी सिद्धान्तविपरीत हुने जिकिर गरिएको छ।
मुभमेन्टले निष्पक्ष न्याय सुनिश्चित गर्न गृहमन्त्री गुरुङले पदत्याग गर्नु अनिवार्य रहेको धारणा व्यक्त गरेको छ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्टसँग गुरुङको आर्थिक तथा व्यावसायिक सम्बन्ध रहेको दाबी सार्वजनिक भएको थियो। सार्वजनिक कागजात तथा बैंक कारोबार विवरणले दुवैबीच रकम लेनदेन भएको संकेत गरेको दाबी गरिएको छ।
सार्वजनिक विवरणअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा गुरुङ र भट्टबीच साझेदारी रहेको देखिएको जनाइएको छ। उक्त विषय सार्वजनिक भएसँगै राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।
विपक्षी दलहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। साथै गृहमन्त्री गुरुङको नाम अस्वाभाविक सम्पत्तिसम्बन्धी बहसमा समेत जोडिएको बताइएको छ।
