काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन्।
स्रोतका अनुसार उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित नेपाल आएका बताइएको छ।
काठमाडौं बसाइका क्रममा कपुरले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तथा सरकारका केही मन्त्रीहरूसँग पनि छलफल गर्ने तयारी रहेको जनाइएको छ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाविज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि उक्त जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए।
कपुरको नेपाल भ्रमण तीन दिनको रहने बताइएको छ। उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ। बालेन शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं आउने उनी सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ मानिएका छन्।