काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकमा छलफलका लागि तयार पारिएको नौबुँदे प्रस्ताव पार्टीले आइतबार नै सार्वजनिक गरिसकेको छ।
पार्टी प्रवक्ता मनिष झाले बैठकमा संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिएका छन्। कार्यसूचीअनुसार बैठकको सुरुवात पार्टी गतिविधिबारे विस्तृत ब्रिफिङबाट हुनेछ। त्यसपछि केन्द्रीय सदस्यहरूको रिपोर्टिङ रहनेछ, जसमा २० जनाले दुई–दुई मिनेट बोल्न पाउने व्यवस्था गरिएको छ।
बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनको विषय प्रमुख एजेन्डाका रूपमा रहनेछ। आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिने तथा पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिने तयारी गरिएको छ।
स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ। त्यस्तै विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा समेत छलफल हुने जनाइएको छ।
बैठकले सचिवालयका निर्णय अनुमोदन गर्नेछ भने विविधअन्तर्गत विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारमाथि पनि छलफल गर्नेछ। साथै विषयगत विभागका योजना तयारी, नीति मन्थनका लागि निर्देशन दिने तथा संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा समेत निर्णय लिने कार्यसूचीमा उल्लेख गरिएको छ।