महोत्तरी । चन्द्रमास गणनाअनुसार आज वैशाख शुक्ल तृतीया तिथि परेकाले मधेसका महोत्तरीसहित विभिन्न जिल्लामा अक्षय तृतीया पर्व श्रद्धापूर्वक मनाइँदै छ।
हिन्दू परम्पराअनुसार यस दिन बाटोमा हिँड्ने बटुवालाई जौ र चनाको सातु तथा सक्खर मिसाइएको सर्वत खुवाउने चलन रहेको छ। यसरी भोका र तिर्खाएकालाई सातु–सर्वत दान गर्दा कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने जनविश्वास छ।
आजको दिन जति धेरै व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य मिल्ने मान्यताले ठाउँ–ठाउँमा बाटोमा बसेर बटुवालाई सातु र सर्वत खुवाउने गरिन्छ।
गर्मी याममा शरीरलाई शीतलता दिने, ऊर्जा बढाउने र स्वास्थ्यका लागि उपयोगी भएकाले जौ, चना र सक्खरको प्रयोग गरिएको परिकारको विशेष महत्व रहेको स्वास्थ्यकर्मी बताउँछन्।
मैथिल परम्पराअनुसार गरिब तथा अभावमा परेका व्यक्तिलाई सातु राखिएको थैला र सर्वतसहितको घडा दान गर्ने चलन पनि रहेको छ।
भविष्य पुराणमा वर्णित यो पर्व भगवान् शिव र पार्वतीको विवाह भएको दिनका रूपमा पनि मानिन्छ। यसै दिन भगवान् विष्णुको छैटौँ अवतार परशुरामको जन्मदिन परेको विश्वास गरिन्छ।
सुख, समृद्धि र सेवाभावको प्रतीक मानिने यो पर्वले मौसमअनुसार पौष्टिक भोजन गर्न तथा दीनदुःखीलाई सहयोग गर्न प्रेरणा दिने विश्वास गरिएको छ। आज कुलपुरोहितलाई पूजा गरी वस्त्र, मिष्टान्न र दक्षिणा अर्पण गरेपछि परिवारजनले सातु र सर्वत सेवन गरी पर्व समापन गर्ने मैथिल परम्परा छ।
यस दिन नयाँ घर प्रवेश, अन्नप्राशन, विवाहलगायत माङ्गलिक कार्यका लागि छुट्टै साइत हेर्न नपर्ने मान्यता पनि रहेको छ।