एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल’ अब नचल्ने बताएका छन् ।
शनिबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेर दबाब दिन खोजेको आरोप लगाउँदै अब त्यस्तो रणनीति स्वीकार्य नहुने बताए ।
उनले भने, “इरानले हर्मुज बन्द गरेर अमेरिकालाई अब ब्ल्याकमेल गर्न सक्दैन।”
यसअघि शुक्रबार इरानले स्ट्रेट अफ हर्मुज अस्थायी रूपमा खोलिएको घोषणा गरेको थियो । तर शनिबार इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले फेरि उक्त क्षेत्रमा कडा नियन्त्रण कायम गरिएको दाबी गरेको थियो ।
आईआरजीसीका अनुसार हर्मुज खोलिए पनि अमेरिकाले नाकाबन्दी नहटाएकाले फेरि नियन्त्रण कडा पारिएको हो ।
ट्रम्पले इरानसँग संवाद सकारात्मक दिशामा अघि बढिरहेको पनि बताएका छन् । तर इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता भने अझै अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।
ट्रम्पले आइतबारसम्म वार्ता हुन सक्ने संकेत गरेका थिए । तर हालसम्म इस्लामाबादमा त्यसको तयारी देखिएको छैन भने इरानी अधिकारीहरू पनि तत्काल वार्ताका लागि तयार नभएको अलजजिराले उल्लेख गरेको छ ।