बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युद्ध अन्त्यतर्फ सकारात्मक संकेत : इस्लामाबादमा अमेरिका–इरान वार्ता

आइतबार, चैत्र २९ २०८२

इस्लामाबाद । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यलेसम्युक्त राज्य अमेरिका र इरानबीच इस्लामाबादमा प्रत्यक्ष वार्ता सुरु भएको छ। पाकिस्तानको मध्यस्थतामा भएको उक्त वार्तालाई क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

पाकिस्तानी सरकारी स्रोतका अनुसार अमेरिका, इरान र पाकिस्तान गरी तीनै पक्षको सहभागितामा पहिलो चरणको वार्ता सम्पन्न भइसकेको छ। करिब अढाई घण्टा चलेको उक्त छलफललाई “सकारात्मक” रहेको बताइएको छ भने छोटो विश्रामपछि पुनः वार्ता जारी रहने जनाइएको छ।

वार्तामा शेभाज नेतृत्वको पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। प्रारम्भिक चरणमा दुबै पक्षका प्रतिनिधिहरूले प्रधानमन्त्री शरिफसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

यसअघि पनि दुबै देशबीच इस्लामाबादमै मध्यस्थकर्तामार्फत अनौपचारिक छलफलहरू भएका थिए। पछिल्लो समय प्रत्यक्ष वार्ता सुरु हुनु कूटनीतिक प्रगतिको संकेत मानिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स समेत वार्ताका लागि इस्लामाबाद पुगेका छन्। उनीसँगै Steve WitkoffJared Kushner पनि सहभागी रहेका छन्। उनीहरूले प्रधानमन्त्री शरिफसँग भेटवार्ता गर्दै शान्ति प्रक्रियामा सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

युद्धरत दुबै देशले करिब ६ हप्तासम्मको लडाइँपछि युद्धविराम घोषणा गरेका थिए। तर त्यसपछि पनि एक–अर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।

मध्यपूर्वमा फैलिएको यो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्दै ऊर्जा संकट निम्त्याएको छ। यस परिप्रेक्ष्यमा इस्लामाबादमा भइरहेको वार्तालाई दीर्घकालीन शान्ति स्थापना गर्ने दिशामा महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

पाकिस्तान सरकारले उक्त वार्ताले क्षेत्रीय स्थायित्व र शान्ति कायम गर्न “कोशेढुङ्गा” सावित हुने विश्वास व्यक्त गरेको छ।

एजेन्सी