काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार बिहीबार महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक र एक नेपाली कम्पनीसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको जनाएको छ। प्रवक्ता लामिछानेका अनुसार अभियुक्तहरुलाई ‘मुख्य मतियार’ र ‘कसुरका सहयोगी’ गरी दुई समूहमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको छ।
अभियोगपत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेपको आवरणमा ८ किलोग्रामभन्दा बढी सुन भित्र्याई भन्सार छली, हिनामिना तथा गैरकानुनी रूपमा रूपान्तरण र हस्तान्तरण गरिएको आरोप लगाइएको छ।
अख्तियारले महरासहितका प्रतिवादीहरूले उक्त कार्यबाट राज्यलाई नोक्सानी पुर्याई व्यक्तिगत लाभ लिएको दाबी गरेको छ।
२०७९ सालमा चिनियाँ समूहमार्फत भेप प्रयोग गरी गरिएको सुन तस्करी प्रकरणमा महरा र उनका छोराको संलग्नता देखिएको भन्दै अनुसन्धान अघि बढाइएको थियो।