बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपसभामुखका लागि आज श्रम संस्कृतिकी रुवी र राप्रपाकी सरस्वतीबीच प्रतिस्पर्धा

संसदीय शक्ति सन्तुलनको वास्तविक चित्र उजागर हुँदै

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ।

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारी दर्ताको समयसीमाभित्र अन्य कसैले दाबी नगरेकाले प्रतिस्पर्धा दुई उम्मेदवारमै सीमित भएको हो।

रुवीकुमारी ठाकुरको उम्मेदवारीमा श्रम संस्कृति पार्टीका आर्यन राई प्रस्तावक रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी र अम्बिकादेवी निरौला समर्थकका रूपमा रहेका छन्।

यता सरस्वती लामाको उम्मेदवारीमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही प्रस्तावक छन् भने खुश्बु ओली, ताहिर अली र भरत गिरीले समर्थन गरेका छन्।

संख्यात्मक हिसाबले भने प्रतिस्पर्धा एकतर्फी बन्न सक्ने संकेत देखिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा सत्तारुढ रास्वपाको एक्लै १८२ मत रहेकाले यही अंकगणित निर्णायक बन्ने देखिन्छ। रास्वपाले एकीकृत रूपमा मतदान गरेमा रुवीकुमारी ठाकुरको जित लगभग निश्चित हुने आकलन गरिएको छ।

यस निर्वाचनले केवल उपसभामुख चयन मात्र नभई संसदीय शक्ति सन्तुलनको वास्तविक चित्र पनि उजागर गर्ने अपेक्षा गरिएको छ।

संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।

गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।