एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ताका लागि गरिएको ससर्त युद्धविराम सम्झौतालाई इजरायलले पनि समर्थन गरेको छ। तर इजरायलले लेबनन क्षेत्रमा भने उक्त सम्झौता लागू नहुने स्पष्ट पारेको छ।
इजरायलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि दुई हप्तासम्म आक्रमण रोक्ने निर्णयलाई समर्थन गर्ने उल्लेख गर्दै इरानले तुरुन्तै होर्मुज जलडमरू खोल्नुका साथै अमेरिका, इजरायल र अन्य देशहरूमाथि आक्रमण बन्द गर्नुपर्ने सर्त राखिएको छ।
इजरायलले इरानले आणविक हतियार, क्षेप्यास्त्र तथा आतंक गतिविधि रोक्ने सुनिश्चितताका लागि अमेरिकाले गरिरहेको प्रयासलाई समर्थन गर्ने जनाएको छ। साथै, आगामी वार्तामा अमेरिका र क्षेत्रीय साझेदारहरूसँग मिलेर यी लक्ष्य अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
युद्धविरामका लागि मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले स्थायी समाधानका लागि आगामी शुक्रबार इरान र अमेरिकी प्रतिनिधिबीच इस्लामाबादमा वार्ता हुने जानकारी दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत सरिफले उक्त युद्धविरामलाई स्वागत गर्दै दुवै देशका नेतृत्वप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले १० अप्रिल २०२६ मा इस्लामाबादमा हुने वार्ताले सबै विवाद अन्त्य गर्दै दिगो शान्तिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन्।