बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दशौँ स्वास्थ्य बीमा दिवस आज, विविध कार्यक्रम हुँदै

बुधबार, चैत्र २५ २०८२

काठमाडौँ । दशौँ स्वास्थ्य बीमा दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस वर्षको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान’ रहेको छ।

स्वास्थ्य बीमा कार्यक्रम नागरिकले स्वास्थ्य सेवा उपयोग गर्दा आउने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सामाजिक सुरक्षा कार्यक्रम हो। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसहित २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरु भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन हुँदै आएको छ।

कार्यक्रमले सर्वव्यापी स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै सन् २०३० सम्मका दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हकका रूपमा सुनिश्चित गरेको छ। संविधानको धारा ५१ (ज) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्योपचारमा सहज पहुँच उपलब्ध गराउने नीति उल्लेख गरिएको छ।

स्वास्थ्य सेवा प्राप्तिमा नागरिकको अधिकार संरक्षण गर्न तथा उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्न स्वास्थ्य बीमा ऐन, २०७४ लागू गरिएको हो। यसलाई कार्यान्वयनमा थप प्रभावकारी बनाउन स्वास्थ्य बीमा नियमावली, २०७५ पनि लागू गरिएको छ।

नियमावलीअनुसार स्वास्थ्य बीमाको सुविधाको दायरा विस्तार गरिएको छ भने ज्येष्ठ नागरिकका लागि सरकारले नै बीमा शुल्क व्यहोर्ने व्यवस्था गरिएको छ। यसअन्तर्गत वार्षिक रु एक लाख बराबरको स्वास्थ्य बीमा सुविधा प्रदान गरिएको छ। साथै, संगठित क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई आम्दानीको एक प्रतिशत योगदान गर्दै बीमामा आबद्ध हुने व्यवस्था पनि गरिएको छ।