बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रोशी क्षेत्रमा अवैध क्रसर बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

बुधबार, चैत्र २५ २०८२

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा सञ्चालनमा रहेका अवैध खानी तथा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रको अनुगमन–निरीक्षणका क्रममा पनौती नगरपालिका क्षेत्रमा पुगेका मन्त्री गुरुङले मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्न सम्बन्धित निकायलाई कडाइका साथ निर्देशन दिए ।

उनले गिट्टी–बालुवाको अनियन्त्रित उत्खननका कारण बाढीपहिरोको जोखिम बढेको उल्लेख गर्दै यसतर्फ सरोकारवाला निकाय गम्भीर नभएकोप्रति असन्तुष्टि व्यक्त गरे। पूर्ववर्ती सरकारले ठेक्कापट्टामा मिलेमतो गरी अवैध रूपमा यस्ता गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै अब त्यस्ता काम सहन नसकिने स्पष्ट पारे ।

मन्त्री गुरुङले मापदण्डविपरीत अनुमति दिँदा जनधनको ठूलो क्षति भएको उल्लेख गर्दै वैध–अवैध सबै खानी तथा क्रसरको तत्काल छानबिन गरिने बताए ।

गत वर्ष असोज दोस्रो साता आएको बाढीपहिरोका कारण पनौती क्षेत्रमा एक विदेशी नागरिकसहित २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता रहेका छन्। नगरपालिकाका अनुसार उक्त विपद्मा ५८६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ९४४ घर उच्च जोखिममा परेका छन्।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले बीपी राजमार्गको क्षतिग्रस्त खण्डको अवस्थाबारे सरोकारवालासँग स्थलगत छलफल पनि गरे । सम्भावित विपद्बाट बच्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिँदै उनले सुरक्षा निकायलाई रणनीतिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन्