काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी का नेता वर्षमान पुनले सरकारले वैदेशिक ऋण लिने निर्णयप्रति आपत्ति जनाउँदै स्पष्ट जवाफ माग गरेका छन्।
सोमबार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले झण्डै २८ अर्ब रुपैयाँ वैदेशिक ऋण स्वीकार गर्ने निर्णयको विरोध गरेका हुन्। उनले पुराना दलहरूले देशलाई ऋणमा डुबाएको भन्दै ऋण नलिने प्रतिबद्धता जनाएर सत्तामा आएको दलले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिनु आश्चर्यजनक भएको बताए।
उनले भने, ‘हामी ऋण लिँदैनौँ भनेर आएका साथीहरू सत्तामा पुग्नेबित्तिकै एकैपटक २८ अर्ब ऋण लिएका छन्। यसबारे सरकारले जवाफ दिनुपर्छ, जनताले पनि बुझ्छन्। ऋण नलिने भन्ने अनि आएकै दिन ऋण लिने हो भने जनताले कसरी पत्याउने?’
पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वाभाविक भए पनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए। उनले पूर्वाधार निर्माण र रोजगारी सिर्जनाजस्ता क्षेत्रमा मात्र ऋण प्रयोग गर्नुपर्ने धारणा राख्दै फजुल खर्चका लागि ऋण प्रयोग गर्न नहुने बताए।
उनले ऋण नीतिको विरोध गर्दै आएका शक्तिहरू अहिले सरकारमा रहेकाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए।