घोराही । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ।
सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिए। बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो।
आगलागी भएको जानकारी पाउनासाथ आगो नियन्त्रण गर्न र घटना बुझ्न इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी खटिएको थियो। सो आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।
सो घटना कसले र किन गराएको भन्ने खुल्नमा नआए पनि घटनाको प्रकृति हेर्दा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको र सो विषयमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। अहिले त्यहाँ प्रहरी परिचालन गरी घटना बुझ्ने काम भइरहेको पनि उनले बताए।