शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली कांग्रेसको ‘जरा अभियान’ सुरु, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो

आइतबार, चैत्र २२ २०८२

 ललितपुर । नेपाली कांग्रेस ले ‘जरा अभियान’ तथा १५औँ महाधिवेशनको तयारीस्वरूप देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार पार्टी सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले ‘एकमहिने जरा अभियान’ सञ्चालन गर्न प्रतिनिधि परिचालन गरिएको हो।

खटाइएका प्रतिनिधिका लागि शनिबार पार्टी केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको जनाइएको छ। कार्यक्रममा पार्टीका महामन्त्री प्रदीप पौडेल ले अभियानको उद्देश्यबारे जानकारी गराएका थिए भने युवा नेता प्रताप पौडेल ले विधान, कार्यविधि र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए।

विज्ञप्तिअनुसार १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार अभियानको औपचारिक सुरुवात भइसकेको छ। विसं २०८३ वैशाख १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, सङ्गठनात्मक गतिविधिको समीक्षा, जनतासँग अन्तरक्रिया तथा सामाजिक–सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

यसैगरी, स्थानीय तह सञ्चालन तथा आगामी बजेट निर्माणसम्बन्धी सहजीकरण गर्ने पनि अभियानको उद्देश्य रहेको बताइएको छ।

कांग्रेसले जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटाइसकेको र जिल्लामार्फत देशभरका ६ हजार ७४३ वटै वडामा समेत प्रतिनिधि परिचालन गरिने जनाएको छ। वैशाख महिनाभित्र सबै तहका पार्टी सदस्यले आफ्नो वडामा उपस्थित भई सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

अद्यावधिक सदस्यहरूले मात्र ‘कांग्रेस आइडी’ प्राप्त गर्ने र १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको पार्टीले जनाएको छ।