एजेन्सी । रुसको तातारस्तान गणतन्त्र स्थित एक पेट्रोकेमिकल प्लान्टमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ। रूसी आपतकालीन अवस्था मन्त्रालयले मंगलबार जानकारी दिएको हो।
मन्त्रालयका अनुसार २७ वर्षीय ती अग्निनियन्त्रक अचानक भएको विस्फोटमा परेर घातक चोट लागेका थिए। आगो निभाउने र उद्धार कार्यका क्रममा अन्य तीन अग्निनियन्त्रक पनि घाइते भएका छन्।
यसअघि, रूसी ग्यास प्रशोधन तथा पेट्रोकेमिकल कम्पनी सिबुरले दुर्घटनामा दुई जनाको मृत्यु र ७० भन्दा बढी घाइते भएको जनाएको थियो। कम्पनीका अनुसार प्रभावित प्लान्ट पश्चिम रूसमा यसको सहायक कम्पनी निज्नेकाम्स्कनेफ्टेखिम द्वारा सञ्चालित छ।
मन्त्रालयले जनाएको छ, प्लान्टको एक पम्पिङ युनिटमा आगो लागेपछि विस्फोट भएको र त्यसपश्चात भीषण आगलागी सुरु भएको थियो। हाल आगो नियन्त्रणमा आइसकेको छ। रुसको अनुसन्धान समितिले घटनाको सम्बन्धमा छानबिन शुरु गरेको छ।