मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

तिव्र गतिमा बालेन सरकार

बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएको ४८ घन्टामा बालेन शाह नेतृत्वको सरकारले निक्कै ठूला पक्राउ र सय राम्रा कामको थालनी गरेको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ २४ घन्टाभित्र भयो भने पूर्वमन्त्री दीपक खड्का पक्राउदेखि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति शुद्धिकरणको अनुसन्धानले गति लियो।

०४६ सालयता सत्ताको चास्नीमा रमाएकाहरुलाई बालेनको सिंहदरबार प्रवेश निक्कै पेचिलो साबित हुँदै गईरहेको छ। यसबेला नै सिंहदरबारको यात्राको सोच नबनाएका बालेनलाई जेनजी विद्रोहले अगाडि प्रस्ताव गरिदियो भने ओली सरकारमा हुँदा महानगरपालिकाको मेयरका रुपमा पाएको दुख अर्को कारण बन्यो।

धेरैको प्रश्न छ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मागेको कर्मचारी दिएको भए, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईलाई रोक्दा फर्किदिएको भए, तत्कालिन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनिदिएको भए, के हुन्थ्यो?

सम्भवतः जेनजी विद्रोहबाट निर्वाचन भए पनि बालेन यसबेला महानगरपालिकाको कार्यकाल पूरा नगरी चुनावमा होमिने थिएनन् र सिंहदरबारकै नेतृत्व गर्ने चरणमा प्रधानमन्त्री बन्ने थिएनन् होला।

अक्सर ‘नेपाल हाँसेको हेर्न चहान्छु’ भनी ठान्ने बालेन अब चलाउन नपाएको बागदरबारलाई पनि कसरी राम्रो बनाउन सकिन्छ भन्ने सिंहदबारको नेतृत्व गर्दै प्रधानमन्त्री कार्यालयमा पुगेका छन्। अब उनी देशकै कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्।

गत फागुन २१ मा आएको जनउभार, जनताको मतको बलले बालेनलाई यो शक्तिका रुपमा स्थापित गरेको छ जसरी महानगर प्रमुख हुँदा उनलाई जनताले नै विश्वास गरेका थिए।

अब एउटा महानगरको होइन, राजनीतिमा छिरेको चार बर्ष पनि नपुगी बालेनलाई देशको जिम्मा लगाइएको छ, जनताको तर्फबाट। अब जिम्मेवारीका अग्ला पहाड छन्। अब नेपाली जनताको अभिभावक बनाइसकेपछि जनताको विश्वास र भरोसामा अहोरात्र खट्नुपर्ने हुन्छ।

बालेन शाहको सिंहदरबार यात्रा कुनै संयोग मात्र होइन, यो दशकौँदेखि गुम्सिएको जनआक्रोश र परिवर्तनको तीव्र भोकको उपज हो। बागदरबारमा काम गर्ने वातावरण नदिएर जुन घेराबन्दी गरियो, त्यसले अन्ततः उनलाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा पुराई छाड्यो।

हिजो एउटा महानगरको फोहर व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा अल्झाउन खोजिएका बालेन आज ७५३ वटै स्थानीय तहको अभिभावक बनेका छन्। तर, यो जितसँगै उनीमाथि अपेक्षाका यस्ता पहाडहरू थपिएका छन्, जसलाई छिचोल्न अब ‘र्याप’ को लय वा सामाजिक सञ्जालको सुइरो मात्र पर्याप्त हुने छैन।

अबको बाटोमा बालेनले केवल राजनीतिक दलका संयन्त्रसँग मात्र होइन, वर्षौँदेखि जकडिएको कर्मचारीतन्त्रको ‘रेड ट्यापिज्म’ सँग पनि जुध्नुपर्नेछ। प्रधानमन्त्रीका रूपमा उनले लिने हरेक निर्णयले अब काठमाडौँलाई मात्र होइन, सुदूरपश्चिमका विकट गाउँदेखि मधेशका फाँटसम्मका नागरिकको जीवनमा प्रभाव पार्नेछ। हिजो बागदरबारमा कर्मचारी नपाएर काम रोकिएको गुनासो गर्ने बालेनले अब देशैभरिका दक्ष जनशक्तिलाई कसरी परिचालन गर्छन् र विदेश पलायन भइरहेका युवालाई कसरी रोक्छन् भन्ने नै उनको कार्यकालको मुख्य कसी हुनेछ।

जेनजी पुस्ताको विद्रोहबाट जन्मिएको यो नेतृत्वले परम्परागत कुटनीति र जर्जर अर्थतन्त्रलाई कसरी सन्तुलनमा राख्छ, त्यो हेर्न बाँकी नै छ। तर एउटा कुरा प्रष्ट छ— नेपाली जनताले उनलाई बालुवाटार पठाउनुको अर्थ केवल अनुहार फेर्नु मात्र होइन, वर्षौँदेखि थलिएको शासन व्यवस्थाको शल्यक्रिया गर्नु हो। ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने उनको सपना अब उनको व्यक्तिगत चाहना मात्र रहेन, यो करोडौँ नेपालीको साझा संकल्प बनेको छ।

बालेनका लागि यो कार्यकाल इतिहास रच्ने अभूतपूर्व अवसर हो। यदि उनले जनताको यो अटल विश्वासलाई परिणाममा बदल्न सके भने, नेपालको राजनीतिमा नयाँ युगको सूत्रपात हुनेछ।