इजरायल र खाडी राष्ट्रहरूलाई अमेरिकाको निरन्तर समर्थन रहने
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानविरुद्ध जारी सैन्य कारबाही अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। ह्वाइट हाउसबाट बिहीबार गरिएको सम्बोधनमा उनले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचना गम्भीर रूपमा कमजोर बनेको उल्लेख गरे ।
ट्रम्पका अनुसार इरानी नौसेना लगभग समाप्त भइसकेको, वायुसेना क्षतिग्रस्त अवस्थामा पुगेको र उच्च तहका धेरै कमाण्डर मारिएका छन्। साथै इरानको मिसाइल तथा ड्रोन क्षमतामा समेत उल्लेख्य गिरावट आएको उनको भनाइ छ। “अमेरिका स्पष्ट रूपमा जिततर्फ अघि बढिरहेको छ,” उनले भने ।
उनले सन् २०२५ जुनमा सञ्चालन गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ उल्लेख गर्दै इरानका आणविक केन्द्रहरू ध्वस्त पारिएको दाबी गरे। इरान आणविक हतियार निर्माणको नजिक पुगेको आरोप लगाउँदै ट्रम्पले बराक ओबामा नेतृत्वमा भएको आणविक सम्झौतालाई “ठूलो गल्ती” भन्दै त्यसलाई अन्त्य गर्नु आफ्नो महत्वपूर्ण निर्णय भएको बताए ।
क्षेत्रीय सुरक्षाका सन्दर्भमा उनले इजरायल र खाडी राष्ट्रहरूलाई अमेरिकाको निरन्तर समर्थन रहने स्पष्ट पारे। हर्मुज जलसन्धिको सुरक्षामा सहयोगी देशहरूले आफैं सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्दै अमेरिका अब उक्त क्षेत्रमा तेल र सुरक्षामा पहिलेझैं निर्भर नरहेको संकेत पनि दिए।
आर्थिक पक्षमा ट्रम्पले बढ्दो इन्धन मूल्यका लागि इरान लाई जिम्मेवार ठहर्याए। साथै निकोलस मदुरो सत्ताच्युत भएपछि भेनेजुएला सँग सम्बन्ध सुधारिएको दाबी गर्दै त्यसलाई सफल उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
सम्बोधनको सुरुवातमा उनले नासा को ‘आर्टेमिस–२’ मिसनको सफलताप्रति खुशी व्यक्त गर्दै अन्तरिक्ष यात्रीहरूको प्रशंसा गरे। साथै सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानी को घटनालाई स्मरण गर्दै इरानमाथि आतंकवाद प्रवर्द्धन र आफ्नै नागरिकमाथि दमन गरेको आरोप दोहोर्याए ।
यद्यपि ट्रम्पका यी दाबीप्रति विभिन्न तहबाट प्रश्न उठ्न थालेका छन्। केही विश्लेषकहरूले युद्धको आवश्यकता र प्रभावकारितामाथि प्रश्न गर्दै अमेरिकी कारबाहीकै कारण क्षेत्रमा थप अस्थिरता र आर्थिक दबाब बढेको बताएका छन्। इरानले अहिलेसम्म युद्धविराम वा वार्तामा सहमति नजनाइसकेको अवस्थामा ट्रम्पले उल्लेख गरेको “अन्तिम चरण” कति यथार्थपरक हो भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरमा अन्योल कायमै रहेको छ।