काठमाडौं । मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको छ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएपछि पार्टीभित्रको विवाद चर्किएको हो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र देउवा नेतृत्वको पुरानो समिति आमनेसामने भएका छन् । फागुन २१ गतेको निर्वाचनमा पार्टीले कमजोर नतिजा बेहोरेपछि देउवा पक्ष पुनः सक्रिय बन्दै समानान्तर गतिविधि तीव्र पारेको हो ।
देउवा विदेशमा रहे पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापनइतर समूहले मंगलबार काठमाडौंको धुम्बाराहीमा भेला गरेको छ । भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित तथा विशेष महाधिवेशनपछि बाहिरिएका अधिकांश केन्द्रीय सदस्य सहभागी भएका थिए ।
भेलामा १४औँ महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गरेका शेखर कोइराला पनि सहभागी भएका छन् । उनी हाल देउवा समूहसँग नजिकिएर सक्रिय देखिएका छन् ।
खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा समानान्तर रूपमा ‘केन्द्रीय कार्यसमिति’ बैठक बोलाएपछि विवाद थप चुलिएको छ । संस्थापन पक्षले यसलाई अनुशासन उल्लंघन मान्दै कारबाहीको संकेत दिएको छ । केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङ ले बुधबारका लागि समितिको बैठक बोलाएका छन् ।
देउवा पक्षले भने निर्वाचन हारको समीक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफलका लागि बैठक बोलाइएको दाबी गरेको छ । सो समूहले विशेष महाधिवेशनबाट बनेको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिन अस्वीकार गरेको छ ।
यसैबीच, विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग को निर्णयविरुद्ध दायर रिटमाथि आगामी चैत २२ गते सुनुवाइ हुने तय भएको छ ।
दम्भ त्यागेर एकता रोज्न बलायरको आग्रह
कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीका कारण समग्र पार्टी कमजोर बनेको बताएका छन् ।
पछिल्लो समय देखिएका असन्तुष्टि र समूहगत गतिविधिका बीच संस्थापन पक्षले ‘कारबाहीको डन्डा’ चलाउने तयारी गरिरहेको चर्चाका क्रममा बलायरले नेतृत्वलाई दम्भ त्यागेर एकताको बाटो रोज्न आग्रह गरेका हुन् ।
उनले पार्टीभित्र भइरहेका गतिविधिलाई ‘समानान्तर’ भन्न नमिल्ने तर्क गर्दै यसलाई कांग्रेसप्रतिको चिन्ता र चासोका रूपमा बुझ्नुपर्ने बताए ।
बलायरले दुवै पक्षले लचकता अपनाउँदै बीचको मार्ग रोज्नुको विकल्प नरहेको स्पष्ट पारे । वर्तमान अवस्थाबारे टिप्पणी गर्दै उनले अहिले कांग्रेसमा कोही पनि पूर्ण रूपमा निर्दोष नरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री पक्राउमा विधि मिचिएको आरोप
नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाएका छन् ।
मंगलबार पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षको केन्द्रीय समिति बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले यस्तो बताएका हुन् । उनले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने जानकारी दिए ।
उनका अनुसार उक्त घटनाबारे राजनीतिक वृत्तसँगै कानूनी तथा मानवअधिकारवादी क्षेत्रबाट पनि प्रश्न उठिरहेका छन् । यसै सन्दर्भमा पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत थप छलफल र परामर्श अघि बढाइने उनले बताए ।
गत शनिबार ‘जेन जी’ आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।
पाण्डेले भने, “पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा विधि र प्रक्रिया अवलम्बन नगरिएको भन्ने कुरा राजनीतिक वृत्तमा मात्र नभई कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत उठेको छ । यी विषयमा हामी समसामयिक राजनीतिक समीक्षा र छलफल गर्छौँ ।”