काठमाडौं । मोटरसाइकलबाट सेवा दिँदा आएको पठाओले अब ट्याक्सी पनि सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले राजधानीमा ट्याक्सी सेवा सुरु गर्ने तयारी गरेको हो । उपभोक्ताले पठाओको सेवा अत्यधिक रुचाएको भन्दै कम्पनीले आउँदो शुक्रबारदेखि ट्याक्सीमार्फत सेवा दिनलागेको जनाएको छ ।
कम्पनीकी मार्केटिङ प्रमुख सुरक्षा हमालले भनिन्, ‘दुईपांग्रेमा उपभोक्ताहरुको धेरै आकर्षण रह्यो, त्यहीअनुसार चारपांग्रे सेवाको पनि माग भइरहेको हुनाले यसको सेवा यही शुक्रबारदेखि सञ्चालन गर्नलागेका हौँ ।’
कम्पनीले सुरु गर्न लागेको चार पाङ्ग्रे सेवा सार्वजनिक ट्याक्सीहरुबाट नै हो। उक्त कम्पनीमा हाल तीन सयवटा ट्याक्सीहरु आबद्ध हुन आइसकेका छन् ।
सार्वजनिक ट्याक्सीहरुले आफ्नो कागजात पठाओलाई बुझाउनुपर्ने हुन्छ । त्यहीअनुसार कम्पनीले ट्रेनिङ समेत दिने गर्छ । अहिले पनि कम्पनीले आबद्ध हुन आइरहेको ट्याक्सीहरुलाई सेवाबारे तालिम दिइरहेको हमाल बताउँछिन् । हाल पठाओको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिने कम्पनीले बताएको छ ।