काठमाडौं साउन, २१– दरबारकी ग्ल्यामर हुन् पूर्वयुवराज्ञी हिमानी शाह । समाजसेवादेखि अनेक काममा सक्रिय भएकी उनी सर्वसाधारणसँग नजिकबाट जोडिन थालेकी छन् ।
आइतबारमात्र हिमानी ट्रष्टमा दैवी प्रकोप उद्दार कोष खडा गरेको घोषणा गरेकी उनी सोमबार पशुपतिनाथ मन्दिरमा ‘हिस्सी’ परेर पुगेकी थिइन् ।
पूर्वयुवराज्ञी हिमानी शाहले साउने सोमबार तथा नागपञ्चमी अवसर पारेर पशुपतिनाथको पूजा अर्चना गरेकी हुन् । रातो सारी, रातो टीका र नीलो पोते लगाएर पशुपतिनाथ पुगेकी उनीसँग छोरी पूर्णिका र छोरा हृदयेन्द्र पनि थिए । पशुपतिनाथ पुग्नु अघि उनीहरू गुहेश्वरी मन्दिरको दर्शन गरेका थिए ।
पूर्व राजपरिवार सदस्य पशुपतिनाथ पुग्दा सर्वसाधारणले फूलसहित स्वागत गरेका थिए । सार्वजनिक स्थानमा आमा हिमानीसँग हिँड्दा छोरी पूर्णिका पनि मख्ख परेकी थिइन् ।
हिन्दूत्व र राजसंस्थाप्रति सर्वसाधारणको रुची र सहानुभूति बढिरहेका बेला हिमानीलगायत राजपरिवारका सदस्य सार्वजनिक हुँदै सर्वसाधारणसँग नजिक भएका हुन् । हिमानीले आफ्ना सन्तानलाई प्रत्यक्ष रुपमा नै परिचय गराउन थालेकी छन् ।
‘बेबी किङ’को नेपाली पारा
यता प्रायः आमासँग सार्वजनिक कार्यक्रमलगायतमा देखिने हृदयेन्द्र भने नेपाली मौलिक पोशाकमा उपस्थित भएका थिए । उनले कुर्ता पाइजामा र नेपाली टोपी लगाएका थिए ।
आमा हिमानीसँग उनी अघिल्लो बर्ष पनि विविन्न तिर्थस्थलको भ्रमणमा निस्किएका थिए । गोरखादेखि पश्चिम नेपालसम्म पनि यो परिवार मन्दिर दर्शनका पुगेको थियो ।
तत्कालिन कांग्रेस सभापति प्रधानमन्त्री भएका बेला नेपालमा ‘बेबी किङ’ हुनसक्ने भन्दै हृदयेन्द्रलाई इङ्गित गरेका थिए । नेपाल गणतन्त्रमा जाने कि संवैधानिक राजतन्त्रमा जाने भन्ने बहस चलिरहेका बेला कोइरालाको उक्त बयानका कारण हृदयेन्द्रलाई दरबारको उत्तराधिकारीका रूपमा हेरिँदै आएको छ । कतिपयले त शाहवंशीय राजसंस्था दुर्घटनाबस फर्किए उनलाई राजाको रूपमा पनि व्याख्या गर्दै आएका छन् ।