काठमाडौँ । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा पहाड खाली हुँदै गएको अवस्था र त्यसले निम्त्याएका सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गर्दै चलचित्र पहाड निर्माण गरिएको बताएका छन् ।
आगामी वैशाख १ गते प्रदर्शनमा आउने तय गरिएको उक्त चलचित्रको आइतबार टिजर सार्वजनिक गर्दै निर्देशक घिमिरेले यसको कथाले पहाडी क्षेत्र मात्र नभई समग्र देशकै अवस्थालाई उजागर गर्ने बताए ।
उनले भने, “पहाड अत्यन्तै सुन्दर ठाउँ हो। तर पछिल्लो समय युवाहरू विदेश पलायन भइरहेका छन्। रोजगारीको खोजीमा गाउँ छाडेर बसाइँ सर्ने क्रम बढ्दा पहाड उजाडिँदै गएको देखिन्छ। यही यथार्थलाई समेटेर चलचित्र तयार गरेको हुँ।”
निर्देशक घिमिरेले चलचित्रले दर्शकलाई मनोरञ्जन मात्र नभई घर, परिवार र समाजमा विचारका रूपमा पनि प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
भाग्यरत्न फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको चलचित्र ‘पहाड’मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ।
यस चलचित्रमार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई पनि अभिनेत्रीका रूपमा दर्शकमाझ प्रस्तुत गरे ।