बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौँका विभिन्न क्षेत्रमा मतगणना जारी : सबै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा रहेको बताइएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर १० मा रास्वपाका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गर्दै अग्रता लिएको बताइएको छ। नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गरेको आयोगले जनाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जनले ५४ मत प्राप्त गरेको बताइएको छ।

काठमाडौँ क्षेत्र नम्बर ८ मा पनि रास्वपाका विराजभक्त श्रेष्ठ अग्रस्थानमा रहेको आयोगले जनाएको छ। उहाँले तीन हजार २९० मत प्राप्त गरेको बताइएको छ। नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गरेको आयोगको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेको बताइएको छ।

काठमाडौँ क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुलीले एक हजार ४८१ मतसहित अग्रता लिएको आयोगले जनाएको छ। नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले २८२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेको बताइएको छ।

काठमाडौँ क्षेत्र नम्बर १ को पछिल्लो विवरणअनुसार रास्वपाकी रन्जु न्यौपाने तीन हजार १२९ मतसहित अग्रस्थानमा रहेको आयोगले जनाएको छ। नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेको बताइएको छ।

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका सुनिल केसीले ४२४ मत प्राप्त गरेको आयोगले जनाएको छ भने नेकपा (एमाले)का मणिराम फुँयालले २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेको बताइएको छ।

काठमाडौँ क्षेत्र नम्बर ३ मा भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ अग्रस्थानमा रहेको आयोगले जनाएको छ। उहाँले एक हजार ८४६ मत प्राप्त गरेको बताइएको छ। रास्वपाका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्यालले ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नम्बर ४ मा रास्वपाका पुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेको बताइएको छ।

त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर ५ मा रास्वपाका सस्मित पोखरेलले एक हजार ४२४ मतसहित अग्रता लिएको आयोगले जनाएको छ। नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा (एमाले)का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेको आयोगले जनाएको छ।

अन्य निर्वाचन क्षेत्रको विवरण भने आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।