काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्रीलाई सामान्य सञ्चार सामग्री नभई सम्भावित भूराजनीतिक चलखेलको जिउँदो प्रमाणका रूपमा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट अडान व्यक्त गरे।
चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग हो कि नियोजित हस्तक्षेप भन्ने प्रश्न उठाउँदै पोखरेलले समय चयनप्रति शंका व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।”
लोकतन्त्रको रक्षा नेपाली जनताले स्वयं गर्नुपर्ने बताउँदै पोखरेलले नेपालको सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।