शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अध्यक्ष ओलीले आज कमल गाउँपालिकाका आठ स्थानमा मतदाता भेटघाट गर्ने

बिहिबार, फाल्गुन १४ २०८२

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष  केपी शर्मा ओली आज झापाको कमल गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै छन् ।

झापा निर्वाचन क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार दिनभर कमल गाउँपालिकाका आठ स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ।

कार्यक्रमअनुसार बिहान ११ बजे कमल–५ सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट हुनेछ। त्यसपछि साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा अध्यक्ष ओलीले मतदातासँग संवाद गर्ने कार्यक्रम छ।

यसैगरी, साढे १ बजे कमल–३ सानो केर्खा, साढे २ बजे कमल–४ भलायोडाँडा र साढे ३ बजे कमल–२ भुत्लुङमा भेटघाट कार्यक्रम तय गरिएको छ। सोही वडाको जीवनचौकमा अपराह्न ४ बजे पुनः भेटघाट गरिनेछ।

अपराह्न साढे ४ बजे कमल–४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट गर्ने र साँझ ५ बजे कमल–५ रत्नपुर टोल (मंगलाबारे)मा कार्यक्रम सम्पन्न गरिने जनाइएको छ।

स्थानीय वडा कमिटीको आयोजनामा हुने भेटघाट कार्यक्रममा स्थानीयले राख्ने समस्या, सुझाव र विकासका आवश्यकताबारे छलफल गरिनेछ। उठेका विषयलाई आधार मानी बाँकी विकास–निर्माणका योजना तयार गरिने बताइएको छ।

अध्यक्ष ओलीले टोलटोलमा पुगेर प्रत्यक्ष रूपमा समस्या सुन्ने र समाधानका योजना बनाउने रणनीति अपनाउँदै आएका छन्। विशेषगरी बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदै उनीहरूको घर–टोलमै पुगेर संवाद गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

हिजो मात्रै उनले यही निर्वाचन क्षेत्रअन्तर्गतको गौरीगञ्ज गाउँपालिकाका ११ स्थानमा पुगेर मतदातासँग भेटघाट सम्पन्न गरेका थिए ।