शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गगनलाई रविको कटाक्ष: २० वर्षपछि मात्रै कानुन फेर्नुपर्ने ज्ञान आयो ?

‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’

बुधबार, फाल्गुन १३ २०८२

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले नेपाली कांग्रेसका नेता गगन थापा प्रति कटाक्ष गर्दै लामो समय सांसद र मन्त्री भइसकेपछि मात्रै सडक निर्माणका लागि कानुन परिमार्जन गर्नुपर्छ भन्ने “ज्ञान” आएको टिप्पणी गरेका छन्।

मंगलबार इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले विगत २० वर्षसम्म सत्तामा रहेकाहरूले अहिले आएर १२/१५ वटा कानुन फेर्नुपर्छ भन्नु विडम्बना भएको बताए।

यसअघि काठमाडौंमा आयोजित एक प्रश्नोत्तर कार्यक्रममा थापाले सडक निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न करिब ४१ वटा कानुन परिमार्जन आवश्यक रहेको बताएका थिए। सो अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लामिछानेले भने, “२०/२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो? तपाईंको ज्ञान तपाईंमै राख्नुहोस्।”

निर्माण व्यवसायीलाई ‘बाँध्ने’ अभिव्यक्तिबारे प्रस्ट्याउँदै उनले त्यो डोरीले बाँध्ने अर्थमा नभई कानुनी रूपमा कडाइका साथ काम गराउने सन्दर्भ भएको बताए। “कानुनले बाँधेर काम गराउने भनेको हो, डोरीले बाँध्ने होइन,” उनले भने।

लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति निकालेर असन्तोष जनाउनेभन्दा आवश्यक उपकरण खरिद गरेर तीव्र गतिमा काम गर्न आग्रह गरे। “देश विकासतर्फ अघि बढ्दैछ। दुई सिफ्ट, तीन सिफ्टमा काम हुन्छ। उपकरण पर्याप्त छैनन् भने ल्याउनेतर्फ ध्यान दिनुस्,” उनले सम्बोधनमा उल्लेख गरे।

गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बस्न रविको सुझाव

लामिछानेले  थापा लाई पाँच वर्ष प्रतिपक्षमा बस्न सुझाव दिए।

 लामिछानेले थापाप्रति कटाक्ष गर्दै “सुध्रिन वा बदलिन चाहनुहुन्छ भने पाँच वर्षपछि विकल्प बन्नुहोस्” भने। उनले आगामी पाँच वर्ष सरकार रास्वपाले नै चलाउने दाबी पनि गरे।

लामिछानेले समानुपातिक र प्रत्यक्षतर्फ फरक–फरक चिन्हमा मतदान गर्न मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको आरोप लगाए। उनले दुवै तर्फ रास्वपालाई मत दिएर स्पष्ट बहुमत दिलाउन आग्रह गरे।

साथै, उनले फागुन २१ गते हुने मतदानलाई “इतिहासको पन्नामा सुनौलो अक्षरले लेखिने दिन” बन्ने दाबी गर्दै उत्साहपूर्वक सहभागिता जनाउन मतदातालाई आह्वान गरे।