शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

निर्वाचन सुरक्षाबारे उच्चस्तरीय बैठक, संवेदनशील क्षेत्रमा कडा निगरानीको तयारी

मंगलबार, फाल्गुन १२ २०८२

काठमाडौं। आगामी निर्वाचनको सुरक्षा तयारी तथा देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाबारे सूक्ष्म विश्लेषण गर्न निर्वाचन आयाेगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी रहेको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृह सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ। बैठकले देशभरको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै संवेदनशील क्षेत्रहरूमा थप सुरक्षा बन्दोबस्ती मिलाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको जनाइएको छ।

विशेषगरी  मधेश प्रदेश अन्तर्गतका राैतहट र वीरगञ्ज लगायतका स्थानमा पछिल्ला दिनमा भएका झगडा तथा झडपका घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ। रौतहटमा विभिन्न समूहबीच उत्पन्न विवाद हिंसात्मक बनेको र वीरगञ्जमा ढुङ्गामुढा तथा प्रदर्शनका कारण अवस्था तनावपूर्ण भएपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ।

यी घटनाले निर्वाचनको वातावरण बिथोल्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा रणनीतिमा आवश्यक फेरबदल गर्ने विषयमा छलफल केन्द्रित भएको छ। साम्प्रदायिक तथा राजनीतिक झडप भएका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरिएको छ।

स्थानीय विवाद तत्काल नियन्त्रणमा लिन र निर्वाचन बिथोल्ने तत्वलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइने बुझिएको छ। साथै सीमावर्ती र झडप प्रभावित जिल्लामा सुरक्षा उपस्थिति बढाउने तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचनामाथि कडा निगरानी राख्ने गरी ठोस योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।