काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ र चितवन जोड्ने मुग्लिन त्रिशुली नदीमा निर्माण भएको आर्क ब्रिज सञ्चालनमा आएको छ ।
पुल निर्माणको काम सकिएसँगै यातायातको साधन आवतजावत गर्न थालेको पुल योजना मध्य क्षेत्र सेक्टर नम्बर दुई ललितपुरका योजना प्रमुख अंगलाल रोकायाले बताए । आर्क प्रविधिको नयाँ पुल निर्माण गर्न भने चार वर्ष लागेको उनले बताए।
‘नेपाली प्राविधिक, नेपाली कन्सलटेन्सी बनाएको नौलो प्रविधिको पुल हो, यो प्रविधि हिमाली भेगमा अति उपयुत्त र टिकाउ हुन्छ,’ उनले भने, ‘यसमा कम्पन हुँदैन, पैसाको हिसावले पनि सस्तो छ।’ ८० वर्ष आयु रहेको यो पुल १२ करोडको लगनीमा निर्माण भएको हो ।
उक्त पुलमा दैनिक २० हजार साना ठूला सवारी साधन आवतजावत गर्ने अनुमान गरिएको छ । ११ मिटर चौडाई मध्ये साँढे सात मिटरमा गाडी चल्न मिल्नेछ ।
दुई मिटरमा फुटपाथ बनाइएको छ । ‘पोखराबाट आउने गाडीलाई एउटा पुल र काठमाडौबाट जाने गाडीलाई अर्को पुल बाट जाने व्यवस्था मिलाउने उनले बताएका छन् ।
आर्क ब्रिज सञ्चालनमा आएसँगै गण्डकी प्रदेश जोड्ने १० जिल्लाका स्थानीयलाई आउजाउ गर्न सहज भएको छ ।