काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार, जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहत वितरणको प्रभावकारी व्यवस्थापनका लागि गठित समन्वय समितिले फागुन १५ भित्र घाइतेहरूको विवरण उपलब्ध गराउने निर्णय गरेको छ।
डा बुढाथोकीले बताएअनुसार, फागुन १ देखि १५ भित्र स्वास्थ्य संस्थाले घाइतेहरूको सूचीकरण, वर्गीकरण र पुनःवर्गीकरणसम्बन्धी विवरण मन्त्रालयमा पठाउनुपर्नेछ। त्यसपछि आएको विवरणको आधारमा छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिनेछ।
हालसम्म २०० जना घाइतेको वर्गीकरण विवरण मात्र उपलब्ध रहेको उल्लेख गर्दै उनले भने, “धेरै घाइते भएका भए पनि सामान्य घाइतेहरूलाई केही सुविधा उपलब्ध नहुँदा सम्पर्कमा नआएको हुनसक्ने सम्भावना छ।”
सरकारको निर्णय अनुसार, जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर घाइतेको लागि मासिक रु ९ हजार, गम्भीर घाइतेलाई मासिक रु ९ हजार र मध्यम घाइतेलाई मासिक रु ४ हजार उपलब्ध गराइने व्यवस्था गरिएको छ। मन्त्रालयका तथ्याङ्कअनुसार, यस प्रदर्शनमा २,५९९ जना घाइते भएका थिए।