काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
आज जारी सन्देशमार्फत उनले हिन्दू र मुस्लिम दुवै समुदायबीच देखिएको विवाद अन्त्य गर्न संयमता अपनाउन आग्रह गरेका हुन्। धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति तथा चाडपर्वको सम्मान गरी सदियौँदेखि मिलेर बसेका समुदायबीच सहयोग र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै उनले हिन्दू र मुस्लिम समुदाय एकअर्काका परिपूरक भएको टिप्पणी गरे। स्थानीय जनताको जीवन रक्षाका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेका छन्।
रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेपालले वर्तमान समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुनेमा जोड दिँदै शान्तिपूर्ण उपाय अवलम्बन गर्न दुवै समुदायसँग अपिल गरे ।
रौतहट–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका उनले तोडफोड, आगजनी र ढुङ्गा हानाहानका घटना बढेपछि प्रशासनले जारी गरेको कर्फ्यु अवस्थालाई सामान्य बनाउन केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिए।
तीन दिनअघि गौरमा सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तार हुँदै साम्प्रदायिक तनावमा परिणत भएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ।