बागमती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडक खण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएको जानकारी मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दिए।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।