काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच तनाव चुलिएको छ। दाङको तुलसीपुरमा रास्वपा समर्थकले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनापछि दुई दलबीच आरोप–प्रत्यारोप तीव्र बनेको हो।
घटनाका क्रममा रवि लामिछानेको प्रतीक्षा गरिरहेका रास्वपा समर्थकले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा दहन गरेका थिए। यद्यपि, रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उक्त कार्य पार्टीको आधिकारिक निर्णय वा संगठित योजनाअन्तर्गत नभएको स्पष्ट पारेका छन्।
‘जेन–जी’ आन्दोलनपछि आफूहरू युवापुस्ताको प्रतिनिधि भएको दाबी गर्दै रास्वपा उम्मेदवार तथा समर्थकहरूले ओलीलाई ‘भिलेन’का रूपमा प्रस्तुत गर्ने गरेका छन्। सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा पनि दुवै दलका नेताबीच आरोप–प्रत्यारोप बढ्दो छ।
एमालेले भने झण्डा दहनको घटनालाई “अपरिपक्वताको पराकाष्ठा” भन्दै कडा आपत्ति जनाएको छ। एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्ति जस्तै व्यवहार गर्न आग्रह गरेका छन्। झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिकारमा उत्रिने चेतावनीसमेत एमालेले दिएको छ।
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले आलोचना स्वीकार्य भए पनि अराजकता र उच्छृंखलता अस्वीकार्य हुने बताएका छन्। त्यस्तै, अनेरास्ववियुले झण्डा दहनले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुगेको टिप्पणी गरेको छ। प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने उनीहरूको चेतावनी छ।
एमालेले जारी गरेको विज्ञप्तिमा आफूहरू अनुशासित पार्टी भएकाले उत्तेजित नभएको तर संयमता कमजोरी नभएको उल्लेख गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले झण्डा जलाउने कार्यलाई अराजक र आपराधिक क्रियाकलापको संज्ञा दिँदै यस्ता गतिविधिलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने बताएका छन्।
घटनाले थप मुठभेडको सम्भावना बढेपछि रास्वपाले सुरक्षा निकायको आग्रहमा शनिवार र आइतबारका लागि तय चुनावी सभा स्थगित गरेको स्रोतले जनाएको छ। निर्वाचनको वातावरण संवेदनशील बन्दै जाँदा दलहरूलाई संयम र सहिष्णुता अपनाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ।