काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमार्फत आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ।
समतामूलक र द्रुत आर्थिक विकासमार्फत चरम गरिबी अन्त्य गर्ने प्रतिबद्धतासहित अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र दस वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्याउने योजना प्रस्तुत गरिएको छ।
एमालेले कृषि, विद्युत्, खनिज, औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधारमा तीव्र विस्तार गर्दै ७ देखि ९ प्रतिशतसम्मको वार्षिक आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। वित्तीय क्षेत्रको पूँजी उत्पादनशील क्षेत्रमा परिचालन, पूँजी बजार सुदृढीकरण, आन्तरिक तथा बाह्य लगानी आकर्षण, बजेटको प्रभावकारी कार्यान्वयन र राष्ट्रिय प्राथमिकताका आयोजनामै सार्वजनिक ऋण प्रयोग गर्ने नीति अवलम्बन गरिने उल्लेख छ। आगामी पाँच वर्षमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत पुर्याइने लक्ष्य पनि राखिएको छ।
घोषणापत्रमा हरेक वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य उल्लेख छ। कृषि आधुनिकीकरण, व्यवसायिक खेती, खाद्य प्रशोधन, पूर्वाधार निर्माण, हरित उद्योग र सेवा क्षेत्रमा रोजगारी विस्तार गरिनेछ। सीपमूलक शिक्षा, आईटी तथा डिजिटल रोजगारी प्रवर्द्धन, प्रत्येक पालिकामा श्रम डेस्क स्थापना, श्रमिक दर्ता र सामाजिक सुरक्षा सुनिश्चित गरिने एमालेको योजना छ। पाँच वर्षभित्र श्रम आय दोब्बर बनाउने र वैदेशिक रोजगारीको बाध्यता घटाउने लक्ष्य राखिएको छ।
‘सुरक्षित, सम्मानजनक वासः आधुनिक र नागरिकमैत्री आवास’ नारासहित भूमिहीन, सुकुम्वासी तथा न्यून आय भएका परिवारलाई आधारभूत सेवासहित सुरक्षित आवास उपलब्ध गराइने घोषणा गरिएको छ। ‘नागरिक आवास कोष’ स्थापना गरी सार्वजनिक–निजी साझेदारीमा आवास विकास गरिने तथा सहुलियत ऋणमार्फत घर वा अपार्टमेन्ट खरिदमा सहयोग गरिनेछ। एकीकृत बस्ती विकास, जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण र पूर्वाधारयुक्त आवास निर्माणलाई प्रोत्साहन गरिने योजना छ।
मध्यपहाडी लोकमार्ग, कोशी–गण्डकी–कर्णाली करिडोर र हुलाकी राजमार्गलाई आर्थिक करिडोरका रूपमा विकास गरिनेछ। सबै उपमहानगरमा ‘युटिलिटी टनेल’ र शहरहरूमा ‘अण्डरग्राउन्ड युटिलिटी करिडोर’ निर्माण गरी खानेपानी, ढल, विद्युत्, फाइबर अप्टिक्सलगायत पूर्वाधारलाई समन्वित रूपमा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। गाउँ–नगर–शहरलाई क्रमशः ‘फोहर शून्य क्षेत्र’ घोषणा गर्ने, हरित क्षेत्र र नदी संरक्षण अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
एमालेले दुई वर्षभित्र सबै घरमा आधारभूत खानेपानी तथा सरसफाइ सुविधा पुर्याउने र पाँच वर्षभित्र स्वच्छ तथा गुणस्तरीय खानेपानीमा सार्वभौमिक पहुँच सुनिश्चित गर्ने जनाएको छ। ‘पानीको स्रोतदेखि उपभोक्ताको धारासम्म’ गुणस्तर सुधार तथा जीआईएस नक्शांकन प्रणाली लागू गरिने उल्लेख छ।
दैलेखको ग्यास तथा धौवाडी फलाम खानीलाई व्यावसायिक उत्पादनमा लैजाने योजना पनि घोषणापत्रमा समावेश छ। उद्योग, खानी, विद्युत् र निर्माण क्षेत्र विस्तार गरी औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाइनेछ। प्रत्येक प्रदेशमा कम्तीमा एक विशेष आर्थिक क्षेत्र सञ्चालन, ‘एकल बिन्दु सेवा केन्द्र’बाट उद्योगसम्बन्धी सेवा अनलाइन उपलब्ध गराउने, निर्यात तीन वर्षमा दोब्बर र पाँच वर्षमा तेब्बर बनाउने लक्ष्य राखिएको छ।
घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, पारदर्शी सार्वजनिक सेवा, ई–गभर्नेन्स सुदृढीकरण, डिजिटल पूर्वाधार विस्तार, जलविद्युत् उत्पादन वृद्धि, सडक–रेल–हवाई सेवा विस्तार, युवा उद्यम प्रवर्द्धन र खेलकुद पूर्वाधार विकासलगायत २५ समृद्धिका स्तम्भ समेटिएका छन्।
एमालेले विकासका लागि पाँच आधारभूत घोषणा, मन्त्रिपरिषद्बाट तत्काल गरिने ११ काम र २५ समृद्धिका स्तम्भ सार्वजनिक गर्दै “देश पहिला”, “परिपूर्ण लोकतन्त्र”, “संविधान र कानूनको सर्वोच्चता”, “तथ्यमा विश्वास” र “मैत्रीपूर्ण विदेश सम्बन्ध”लाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ।