बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फोहरको दिगो व्यवस्थापन र मेट्रो अवधारणामा उपत्यका मेयर्स फोरमले सरकारसँग सहकार्य गर्ने

शुक्रबार, फाल्गुन ८ २०८२

काठमाडौँ । उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट दैनिक रूपमा उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। फोरमअन्तर्गतको फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनका विधि र प्रविधिको अध्ययन गर्नुका साथै आवश्यकताअनुसार सबै स्थानीय तहबीच समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका उपाय अघि बढाउने जनाएको हो।

फोरमका अध्यक्ष तथा चिरीबाबु महर्जनको अध्यक्षतामा काठमाडौँमा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार गर्ने निर्णयसमेत गरेको छ। पूर्वाधार निर्माण र सञ्चालनका लागि सङ्घ सरकारसँग सहकार्य गरिने फोरमले जनाएको छ।

बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन सहकार्य र समन्वय अपरिहार्य रहेको बताए। मेट्रोको अवधारणा कार्यान्वयनका लागि सङ्घ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तयार रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार निर्माण र सञ्चालनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे ।

बैठकमा सुनिता डङ्गोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सांस्कृतिक–सामाजिक विशेषताअनुकूल ढाँचाको माध्यम छनोट गरी पूर्वाधार विकास गर्न सरकारसँग सहकार्य गर्नुपर्ने धारणा राखिन्। विगतमा सार्वजनिक यातायात प्रणालीसम्बन्धी भएका अध्ययनहरूको पुनरावलोकन गरी उपयुक्त मोडेलबारे ठोस निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ थियो।

“समस्या सीमाविहीन छन्, तिनलाई प्रशासनिक सिमानामा सीमित राखेर समाधान हुँदैन,” डङ्गोलले भनिन्, “उपत्यकाका स्थानीय तहबीच सहअस्तित्व स्वीकार गरी समन्वयात्मक सहकार्य गरेपछि मात्र सार्थक नतिजा आउँछ।”

अध्यक्ष महर्जनका अनुसार उपत्यकामा सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विगतका अध्ययन प्रतिवेदनको विश्लेषण तथा उपत्यका सुहाउँदो ढाँचाबारे आगामी बैठकमा विस्तृत प्रस्तुति गरिनेछ। फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता सीमाविहीन समस्याको समाधानका लागि फोरमलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा बैठकले जोड दिएको छ।